आज विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस : नयाँ पुस्तालाई निकोटिनको लतबाट जोगाउन डब्लुएचओको आह्वान

काठमाडौं, १७ जेठ – विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यापारिक रणनीति तथा स्वस्थ जीवनशैली प्रवर्द्धनबारे जनचेतना फैलाउनु हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थको महामारी र त्यसबाट हुने रोक्न सकिने मृत्यु तथा रोगप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका थिए। त्यसयता हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस मनाइँदै आएको छ।

डब्लुएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा यसको प्रयोग घट्दै गए पनि विश्वका पाँचमध्ये एक वयस्क अझै सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको डब्लुएचओले जनाएको छ।

यस वर्षको दिवसका अवसरमा डब्लुएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष पहल गर्न आग्रह गरेको छ। सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ।

डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य उत्पादन बनाउने कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक, प्रयोग गर्न सजिलो र छोड्न कठिन बनाउने रणनीति अपनाइरहेको जनाएको छ। विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत किशोर र युवालाई लक्षित गरिएको बताइएको छ।

डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि उद्योगहरूले नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास जारी राखेको बताउनुभएको छ। उहाँका अनुसार स्वादयुक्त उत्पादनको आक्रामक बजार विस्तारले विशेषगरी युवालाई प्रभावित गरिरहेको छ।

निकोटिन अत्यधिक लत लाग्ने तथा स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले बालबालिका, किशोर र युवाको मस्तिष्क विकासमा गम्भीर असर पार्न सक्ने डब्लुएचओले चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ। डब्लुएचओले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत निकोटिन पाउचको व्यापक प्रचारप्रसार भइरहेको छ।

आकर्षक प्याकेजिङ, विभिन्न स्वाद र जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने प्रयास भइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था र नियमन छैन। पर्याप्त नियन्त्रणको अभावमा यसको बिक्री तीव्र रूपमा बढिरहेको छ।

डब्लुएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। सङ्गठनले सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनीसमेत दिएको छ।

Facebook Comments Box