भदौ २४ का घटनालाई मानवअधिकार आयोगद्वारा ‘संगठित आपराधिक कार्य’ को निष्कर्ष
काठमाडौं, १३ जेठ – राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २४ गते देशभर भएका आगजनी, तोडफोड र हिंसात्मक घटनालाई ‘संगठित आपराधिक कार्य’ ठहर गर्दै संलग्न व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा भदौ २४ गतेका घटनाहरू भदौ २३ गतेको घटनाबाट प्रभावित देखिए पनि देशभर एउटै प्रकृतिमा भएकोले ती घटनाहरू पूर्वयोजनाअनुसार संगठित रूपमा सञ्चालन गरिएको उल्लेख गरेको छ ।
जेनजी आन्दोलनका क्रममा एक युवाको मृत्यु भएपछि भदौ २४ गते विभिन्न स्थानमा आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधि भएका थिए । आयोगले ती घटनालाई योजनाबद्ध आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको हो । प्रतिवेदनमा भनिएको छ, “भदौ २४ गतेका घटनाहरूको प्रकृति, अवस्था र देशभर एकै समयमा एउटै उद्देश्यका साथ भएको देखिएकाले ती घटनाहरू पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्य हुन् भन्ने निष्कर्षमा पुगिएको छ ।”
आयोगका अनुसार उक्त दिन तीन जना प्रहरीको हत्या गरिएको थियो भने राजनीतिक दलका नेता–कार्यकर्ता र सुरक्षा निकायका कर्मचारीमाथि सांघातिक आक्रमण भएको थियो । प्रदर्शनकारीले गरेको आगजनीमा परेर २१ जनाको मृत्यु भएको र तीमध्ये १२ जनाको अझै पहिचान खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्राध्यापक रवि लक्ष्मी चित्रकारलगायत धेरै व्यक्ति गम्भीर रूपमा घाइते भएको तथा देशभर अर्बौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको आयोगले जनाएको छ । यी घटनालाई आपराधिक गतिविधिका रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै आयोगले दोषी पहिचान गरी कानुनअनुसार कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
यस्तो छ आयोगको प्रतिवेदन :
नवयुवा Gen Z आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिस

