देशभर बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं. १३ जेठ – मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धापूर्वक मनाइँदै छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायले इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । यस अवसरमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने र त्यसपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
काठमाडौंको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद तथा इदगाहमा आज बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको छ । मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अली का अनुसार हिजरी संवत्अनुसार १४३९ वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
मुस्लिम धर्मगुरु रहमत अली ले इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मद सलल्लाले यस पर्व र धर्मको निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार हदिस नामक धर्मग्रन्थको रचना गरी यसलाई मदरसाहरूमा अध्ययन–अध्यापन गराउने परम्परा पनि स्थापित गरिएको छ ।
बकर इदको मुख्य उद्देश्य हज यात्रा मानिन्छ । साउदी अरबस्थित मक्का र मदिना मुस्लिम धर्मावलम्बीका प्रमुख तीर्थस्थल मानिन्छन् । त्यहाँ जान नसक्नेहरूले घरमै पर्व मनाउने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको कुर्बानी (बलि) दिने गरिन्छ । कुर्बानीको मासु तीन भागमा बाँड्ने प्रचलन छ ।
एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई तथा तेस्रो भाग आफ्नै परिवारले प्रयोग गर्ने धार्मिक मान्यता रहेको छ । मुस्लिम समुदायले आजदेखि आगामी तीन दिनसम्म बकर इद पर्व मनाउनेछन् । नेपाली जामे मस्जिदका अनुसार तीनै दिन कुर्बानी दिने धार्मिक विधि रहेको छ ।

