एक सातामा २५० भन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण

काठमाडौं, ७ जेठ – पछिल्लो एक सातामा २५० भन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरी आधार शिविर फर्किएका छन् । सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको मार्ग खुलेयता बुधबारसम्म उक्त सङ्ख्यामा आरोही तथा सहयोगी शेर्पाले आरोहण पूरा गरेका हुन् ।

खुम्बु क्षेत्रको पर्वतारोहण गतिविधि व्यवस्थापनका लागि खटिएका सम्पर्क अधिकृत सुशील सेर्मा का अनुसार आरोहण अवधि सकिन अब १० दिन मात्र बाँकी रहेकाले विभिन्न शिविरमा रहेका आरोहीहरू अहिले चुचुरोतर्फ उक्लिरहेका छन् । उनले पछिल्ला तीन दिनयता मौसम अनुकूल रहेकाले आरोहीको चाप उल्लेख्य रूपमा बढेको बताए । बुधबार मात्रै करिब २०० आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले आगामी दुई दिनभित्र सफल आरोहण गर्नेको सङ्ख्या दोब्बर पुग्न सक्ने अनुमान गरिएको छ ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्त याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक हजार १८१ जनाले अनुमति लिएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ५५ देशका ४९४ आरोहीले अनुमति प्राप्त गरेका छन् । विभागका सूचना अधिकारी हिमाल गौतम का अनुसार हिमाल आरोहण अनुमति शुल्कबाट हालसम्म एक अर्ब २५ करोड ८४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

त्यसमध्ये सगरमाथाबाट मात्रै एक अर्ब सात करोड ८६ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ । यस सिजनमा सगरमाथामा कीर्तिमान बनाउने क्रम पनि जारी छ । विश्वविख्यात आरोही कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथाको चुचुरोमा पुगेको दुई दिनपछि अर्का प्रख्यात आरोही पासाङदावा शेर्पा ले ३० औँ पटक सफल आरोहण गरेका छन् ।

सोलुखुम्बुको पाङ्बोचे निवासी ४९ वर्षीय पासाङदावा विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बनेका छन् । उनले यसै सिजनमा पुनः सगरमाथा आरोहण गरी आफ्नै कीर्तिमान सुधार गर्ने तयारी गरिरहेका छन् । पासाङदावाले विक्रम संवत् २०५५ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

Facebook Comments Box