फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको तयारी, १६० भन्दा बढी संरचना हटाइने
काठमाडौं, ६ जेठ – पोखरा महानगरपालिकाले महानगरको मध्यभाग हुँदै बग्ने फिर्केखोलाको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको छ । करिब आठ किलोमिटर लामो फिर्केखोला महानगरका आठ वडा हुँदै फेवातालमा मिसिने गर्दछ । खोला मिचेर घर, भवन तथा अन्य संरचना निर्माण गरिएकाले जोखिम बढ्नुका साथै फोहोर, ढुङ्गा र माटो तालमा पुगेर फेवाताल पुरिने समस्या बढ्दै गएको महानगरले जनाएको छ ।
पहिलो चरणमा खोलाको बहाव क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाइने तयारी गरिएको हो । महानगर प्रमुख धनराज आचार्यले खोलाघर नै बन्द गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरिने बताउनुभयो । उहाँका अनुसार तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैंले हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ ।
खोलाघर क्षेत्रमा बसोबास गर्दै आएका करिब ४० सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको महानगरले जनाएको छ । अन्य संरचना भने नियमअनुसार हटाइने बताइएको छ । महानगरले निर्धारण गरेको मापदण्डअनुसार फिर्केखोलाको न्यूनतम चौडाइ छ मिटर कायम गरिएको छ ।
महानगरद्वारा गठित छानबिन समितिको प्रतिवेदनअनुसार खोलाघर क्षेत्रमा एक सय ६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना निर्माण भएका छन् । यसअघि २०८० साउन १० गते महानगरले फिर्केखोला खाली गर्न सूचना जारी गरे पनि अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो । पछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि प्रक्रिया पुनः अघि बढाइएको हो ।
प्रतिवेदनअनुसार विद्यालय, कलेज तथा विभिन्न सङ्घसंस्थाका भवनसमेत खोलाघर क्षेत्रमा निर्माण भएका छन् । त्यहाँबाट निस्कने फोहोर र ढलसमेत सिधै खोलामा फालिने गरिएको छ । महानगर प्रमुख आचार्यले फिर्केखोलाको अतिक्रमण हटाएर ‘फिर्के करिडोर’ निर्माण गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ ।

