तीन प्रदेशसहित मधेशमा वर्षाको सम्भावना
काठमाडौँ, ६ जेठ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको उल्लेख गरिएको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल रहनेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

