डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न सरकारसँग माग

 काठमाडौं, १ जेठ – शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा उनले पर्याप्त तयारीबिना ल्याइएको अध्यादेशका कारण आयोगका उपाध्यक्षसहित पदाधिकारीहरू पदमुक्त हुँदा आयोग लामो समयदेखि नेतृत्वविहीन बनेको बताएका छन्। त्यसका कारण नियमित तथा महत्त्वपूर्ण कामकारबाही प्रभावित भएको उनको भनाइ छ।

डा. केसीका अनुसार दक्ष र अनुभवी पदाधिकारीहरू हटाइँदा चिकित्सा शिक्षा आयोगजस्तो प्राविधिक, विशिष्टीकृत र संवेदनशील संस्थाको काम प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनले उल्लेख गरेका छन्।

उनले नयाँ पदाधिकारी नियुक्त नभएसम्म संस्थापक पदाधिकारीहरूमध्येबाट कुनै एकलाई अस्थायी रूपमा आयोगको नेतृत्व दिनुपर्ने बताएका छन्। कर्मचारीबाट मात्र आयोग सञ्चालन गर्ने सरकारी सोचले गम्भीर चिन्ता उत्पन्न गरेको उनको भनाइ छ।

डा. केसीले चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार योग्य, दक्ष, निष्ठावान् तथा स्वार्थ नबाझिने व्यक्तिहरूलाई निष्पक्ष ढंगले नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा सत्याग्रहसहित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन्।

त्यस्तै, उनले नेपालगञ्जकी निर्मला कुर्मी हत्या प्रकरणमा संलग्न भनिएका प्रदेशसभा सदस्यलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्र सुधार, सुशासन तथा सामाजिक न्यायका विषयमा विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्न पनि उनले सरकारसँग पुनः आग्रह गरेका छन्।

Facebook Comments Box