नागढुङ्गा सुरुङ मार्ग आयोजनाका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु
काठमाडौँ, ३० वैशाख – नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ ले सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा दाबी गर्न ३५ दिने म्याद दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको आयोजनाको पश्चिम खण्डमा सम्भावित पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको जनाइएको छ । मन्त्रिपरिषद्को २०८२ चैत २४ गतेको निर्णयअनुसार धादिङको धुनिबेशी नगरपालिका–९ मा पर्ने निश्चित जग्गा अधिग्रहण गर्न लागिएको हो ।
सूचनाअनुसार जग्गाधनीहरूले आफ्नो हकदाबी वा भोगचलनसम्बन्धी आवश्यक प्रमाण, निस्सा र कागजपत्रसहित जिल्ला प्रशासन कार्यालय धादिङमा रीतपूर्वक निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र निवेदन नदिए कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र पछि कुनै उजुरबाजुर नलाग्ने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार धुनिबेशी–९ का अकलबहादुर तामाङ, सुनवीर तामाङ, गोविन्दबहादुर गुरुङ लामा, कुमार तामाङ र रविन तामाङको नाममा रहेका विभिन्न कित्ताका जग्गा अधिग्रहण गरिनेछ ।

