देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ वैशाख – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति मधेश प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

