निःशुल्क ‘वाटर बुथ’को दुरुपयोग रोक्न महानगरको निगरानी कडा
काठमाडौँ, २९ वैशाख – काठमाडौँ महानगरपालिका ले निःशुल्क रूपमा सञ्चालनमा ल्याइएका ‘वाटर बुथ’को दुरुपयोग रोक्न निगरानी बढाएको छ। महानगरले काठमाडौँका विभिन्न आठ स्थानमा सर्वसाधारणका लागि निःशुल्क पिउने पानी उपलब्ध गराउँदै आएको छ।
तर पिउने प्रयोजनबाहेक अन्य काममा पनि पानी प्रयोग भएको भेटिएपछि निगरानी कडा पारिएको महानगरको सार्वजनिक–निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्य ले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड सँगको सहकार्यमा सञ्चालन गरिएका आठ वटा निःशुल्क वाटर एटिएम बुथको औपचारिक शुभारम्भ वैशाख ५ गते गरिएको हो।
ती बुथ निर्माणमा करिब रु दुई करोड ६० लाख खर्च भएको महानगरले जनाएको छ। बुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसारको गुणस्तरीय पिउने पानी निःशुल्क उपलब्ध गराइँदै आएको छ। प्रत्येक बुथमा तीन हजार लिटर पानी भण्डारण क्षमता रहेको बताइएको छ।
यी बुथ खुला मञ्च, महाबौद्ध, दरबार हाइस्कुल परिसर, राष्ट्रियसभा गृह, प्रदर्शनीमार्ग, वडा नं. १७ ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ र वडा नं. ३१ परिसरमा सञ्चालनमा रहेका छन्। महानगरका अनुसार बुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ र पानीको गुणस्तर नियमित परीक्षण गरिन्छ। २४सै घण्टा पानी उपलब्ध हुने यी बुथको निगरानीका लागि सिसीटिभी क्यामरा जडान गरिएको छ।
सहायक निर्देशक बज्राचार्यले यी बुथलाई काठमाडौँको परम्परागत ‘जरुहिटी’ संस्कृतिको आधुनिक स्वरूपका रूपमा लिन सकिने बताउनुभयो। उहाँका अनुसार विगतमा बटुवाको तिर्खा मेटाउन सार्वजनिक रूपमा पानी राख्ने चलनलाई आधुनिक रूपमा पुनर्जीवित गर्ने उद्देश्यले वाटर बुथ स्थापना गरिएको हो।

