आज पहाडी भू–भागमा मध्यम वर्षा, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, २६ वैशाख – नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

हाल मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि यस्तै मौसम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । ती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box