गोरखामा अतिक्रमित सरकारी जग्गा खाली गराउन स्थानीय तह सक्रिय
गोरखा, २४ वैशाख – गोरखाका विभिन्न स्थानीय तहले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन धमाधम सूचना जारी गर्न थालेका छन्। पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिका ले औपचारिक सूचना प्रकाशित गरिसकेका छन् भने अन्य पालिकाहरू पनि तयारीमा रहेका छन्।
सबैभन्दा पहिले सूचना जारी गरेको पालुङटार नगरपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको नापजाँचसमेत सुरु गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरिएको छ।
उनका अनुसार वडा नम्बर ५ राधाकृष्ण चोकस्थित चारकुने तथा वडा नम्बर ७ विरुवाटारलगायत क्षेत्रमा नापजाँच सम्पन्न भइसकेको छ भने अन्य वडामा पनि क्रमशः प्रक्रिया अघि बढाइनेछ। नगरपालिकाले सार्वजनिक, नदी–खोला बहाव क्षेत्र, सरकारी तथा ऐलानी–पर्ती जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको छ।
तोकिएको समयभित्र संरचना नहटाए नगरपालिका आफैंले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनीसमेत दिइएको छ। यता शहीद लखन गाउँपालिका ले सोमबार ३५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ। गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरका अनुसार भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीबाहेक अन्यले सरकारी जग्गामा बनाएका संरचना हटाउनुपर्नेछ।
उनका अनुसार गाउँपालिकामा २९७ जना अव्यवस्थित बसोबासी, १० जना भूमिहीन दलित र ९ जना भूमिहीन सुकुमवासीको विवरण राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखा मा पठाइसकिएको छ। आरुघाट गाउँपालिका ले पनि सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन सूचना प्रकाशनका लागि वडाहरूलाई पत्राचार गरिसकेको जनाएको छ।
यस्तै गोरखा नगरपालिका ले वडा तहबाट विवरण सङ्कलन गरिरहेको र केही दिनभित्र कार्यपालिका बैठकबाट निर्णय गरी सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको जनाएको छ। जिल्लाका अन्य स्थानीय तहहरूले पनि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताएका छन्।

