एनआरएन चिकित्सकको लाइसेन्स खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाहरूको आपत्ति
लन्डन, २३ वैशाख – विदेशी नागरिकता लिएकै आधारमा ३६ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिल को निर्णयप्रति अन्तर्राष्ट्रिय स्तरबाट असन्तुष्टि व्यक्त गरिएको छ। उत्तर अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया लगायत विभिन्न देशमा कार्यरत नेपाली मूलका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने छवटा संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णय सच्याउन माग गरेका हुन्।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (संयुक्त राज्य अमेरिका र नेपाल), अमेरिका नेपाल मेडिकल एसोसिएसन, हेल्थ फाउन्डेसन नेपाल, नेपलिज डाक्टर्स एसोसिएसन यूके, अस्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेन्टल एशोसिएसन तथा एनआरएनए ग्लोवल हेल्थ कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै काउन्सिललाई आफ्नो निर्णयमा पुनः समीक्षाका लागि औपचारिक अनुरोध गरेका हुन् ।
काउन्सिलका उपाध्यक्ष डा. कुञ्जाङ शेर्पालाई सम्बोधन गर्दै लेखिएको पत्रमा विदेशी नागरिकताको आधारमा मात्र चिकित्सकहरूको दर्ता खारेज गर्नु नेपालको संवैधानिक व्यवस्था, एनआरएन ऐन तथा स्वास्थ्य जनशक्तिको आवश्यकतासँग मेल नखाने उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ कि व्यावसायिक दुर्व्यवहार, क्लिनिकल अक्षमता वा नैतिक उल्लङ्घनजस्ता कारणबिना केवल नागरिकताको आधारमा लाइसेन्स खारेज गर्नु न कानुनी रूपमा उचित छ, न प्रशासनिक रूपमा सन्तुलित नै। संस्थाहरूले नेपालको संविधानको समानताको अधिकार सम्बन्धी व्यवस्थालाई स्मरण गराउँदै मूलको आधारमा हुने भेदभाव अस्वीकार्य रहेको बताएका छन्।
साथै, एनआरएन ऐनले विदेशमा रहेका नेपाली पेशेवरहरूको सहभागिता सहज बनाउने लक्ष्य राखेकाले यस्तो निर्णय त्यसको मर्म विपरीत भएको उनीहरूको भनाइ छ। एनआरएन ऐन ले पनि उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार यसले प्रभावित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विश्वभरका नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्न सक्छ।
संघले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणालाई व्यवहारमा लागू गर्दै विदेशमा रहेका दक्ष जनशक्तिको सीप उपयोग गर्ने समावेशी नीति अपनाउन सरकारलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले काउन्सिललाई निर्णय पुनरावलोकन गर्न, आवश्यक कानुनी परामर्श लिन र सरोकारवालासँग संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

