लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार, एक युवक पक्राउ

स्याङ्जा, २३ वैशाख – मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेका छन्।

प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा ती युवकले महिलालाई मोटरसाइकलमा लिफ्ट दिएका थिए। पीडित महिलाको जाहेरीअनुसार मंगलबार बिहान करिब ७ बजे लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए। महिलाले नम्बर दिन अस्वीकार गरेपछि उनले अशोभनीय व्यवहार गरेका थिए।

घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका युवकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले अपरिचित व्यक्तिबाट लिफ्ट प्रस्ताव आएमा विशेष सावधानी अपनाउन, विशेषगरी महिलाहरूलाई सचेत रहन आग्रह गरेको छ।

Facebook Comments Box