वर्षापछि अवरुद्ध केही राजमार्ग सञ्चालनमा, बीपी र मध्यपहाडीका खण्ड अझै अवरुद्ध

काठमाडौं, २३ वैशाख  – केही दिनयताको वर्षासँगै आएको बाढी–पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न सडकखण्डमध्ये केहीमा पुनः यातायात सञ्चालनमा आएको छ। तर बीपी राजमार्गमध्यपहाडी राजमार्गका केही खण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।

प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ भालुखोला खण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ–थुकिम्बा–दोभान भित्री सडक, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इकु पहिरो क्षेत्र तथा मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडा खण्डमा यातायात पुनः सञ्चालनमा आएको छ।

यस्तै, भोजपुर नगरपालिका बोखिमस्थित मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्डमा एकतर्फी रूपमा सवारी आवागमन सुरु गरिएको छ। तर इलामको रोङ गाउँपालिका–६ सलकपुर–डखेप हुँदै झापा जोड्ने भित्री सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा तथा रोशी गाउँपालिका–७ घुमाउने चारसयबेँसी क्षेत्रको बीपी राजमार्ग,

साथै लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी राजमार्ग खण्ड भने अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैबीच, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी खण्डमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षायाममा बाढी–पहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकखण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box