देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, १८ वैशाख  – हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।

बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ।

तराईका केही क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box