अध्यादेश विवादमा विपक्षी दलहरूको बैठक आज

काठमाडौँ, १६ वैशाख – सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको विषयमा छलफल गर्न विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ। प्रमुख विपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेताहरूलाई पनि बोलाइएको छ। बैठकमा संसद् अधिवेशन स्थगित गरेर ल्याइएका संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेशप्रति सरकारको कदम र त्यसविरुद्धको प्रतिवाद रणनीतिबारे छलफल हुने जनाइएको छ।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्र सरकारको उक्त निर्णय सार्वजनिक भएको थियो। यसप्रति प्रतिक्रिया दिँदै नेता आङ्देम्बेले संसद् छल्दै अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सार्वभौम संसद्को अपमान भएको बताएका छन्। उनले लोकतन्त्र, संविधान र जनअभिमतको रक्षा गर्न प्रतिपक्ष प्रतिबद्ध रहेको उल्लेख गर्दै बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याउनु सरकारको आफ्नै बहुमतप्रति अविश्वास भएको प्रश्न उठाएका छन्।

सरकारको निर्णयविरुद्ध अन्य विपक्षी दलहरूले पनि कडा विरोध जनाएका छन्। मन्त्रीपरिषद्ले सोमबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको भए पनि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले यसबारे तत्काल जानकारी दिएका थिएनन्।

Facebook Comments Box