ढल्केबरमा ५३ वर्षदेखि अतिक्रमित सार्वजनिक जग्गाको संरचना हटाइयो

धनुषा, १३ वैशाख – मिथिला नगरपालिका–स्थित ढल्केबर क्षेत्रमा करिब ५३ वर्षदेखि अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गराइएको छ । संघीय सरकारको निर्देशनपछि नगरपालिकाले प्रहरीको सहयोगमा डोजर प्रयोग गरी पक्की घर, टहरा तथा पसलहरू हटाएको हो । शनिबार सञ्चालन गरिएको अभियानमा लामो समयदेखि अतिक्रमण गरेर बसोबास तथा व्यवसाय गर्दै आएका संरचनाहरू भत्काइएको नगरपालिकाले जनाएको छ ।

स्थानीयका अनुसार सडक क्षेत्रमा करिब २५ देखि ३० जनाले वर्षौँदेखि बसोबास र व्यापार सञ्चालन गर्दै आएका थिए । सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्न नगरपालिकाले केही दिनअघि सूचना जारी गरेको थियो । नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार विगतमा पनि अतिक्रमण हटाउने प्रयास भए पनि मुद्दामामिला र राजनीतिक दबाबका कारण कार्यान्वयन हुन सकेको थिएन ।

पछिल्लो तीन वर्षमा तीन पटक सूचना जारी गरिए पनि विभिन्न अवरोधका कारण काम अघि बढ्न सकेको थिएन । वि.सं. २०२६ मा महेन्द्र राजमार्ग निर्माण हुँदा प्रयोगमा रहेको उक्त सडक विसं २०३० पछि नयाँ मार्ग खुलेसँगै परित्यक्त बनेको थियो । त्यसपछि क्रमशः स्थानीयले सो क्षेत्रमा संरचना निर्माण गरेका थिए ।

हाल संघ र प्रदेश सरकारबाट सार्वजनिक सडक तथा जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन आएपछि नगरपालिकाले कार्यान्वयन थालेको हो । अतिक्रमण हटाइएपछि उक्त सडकलाई पुनः खुला गरी मापदण्डअनुसार सञ्चालनमा ल्याइने नगर प्रमुख महतोले बताएका छन् ।

Facebook Comments Box