कैलालीमा मध्यरातमा होटलमा आगलागी हुँदा एक जनाको मृत्यु
धनगढी, १२ वैशाख – कैलालीमा मध्यरातमा होटलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। कैलाली जिल्ला अन्तर्गत घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित बिबेक रेस्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मीनबहादुर बोहराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिना का अनुसार राति करिब पौने १ बजे उनी सुतिरहेको कोठामा आगलागी भएको थियो, जसका कारण घटनास्थलमै उनको ज्यान गएको हो। आगो नियन्त्रणका लागि स्थानीयवासी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा संयुक्त प्रयास गरिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार लामखुट्टे भगाउन प्रयोग गरिएको अण्डाको क्रेटबाट आगलागी सुरु भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल मा राखिएको छ।

