आज सबै प्रदेशमा पानी पर्ने तथा दुईवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ भदौ – आज सबै प्रदेशमा पानी पर्ने तथा दुईवटा प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ।कर्णाली र बागमती प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा फाटफुट वर्षा भइरहेको छ।

महाशाखाको अनुसार देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति भारी वर्षाको सम्भावना भने छैन। मौसमविद् गंगा नगरकोटीले काठमाडौं उपत्यकामा ‘दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेकाे बताउनुभयाे ।

Facebook Comments Box