आज २०औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ वैशाख – आज २०औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वैशाख ११ लाई तत्कालीन राजा ज्ञानेन्द्र शाह को प्रत्यक्ष शासन अन्त्य भई नयाँ राजनीतिक युगको सुरुवात भएको ऐतिहासिक दिनका रूपमा स्मरण गरिन्छ। यही दिनको सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाउने परम्परा रहेको छ।

वि.सं. २०६२/६३ को जनआन्दोलन २०६२/६३ उत्कर्षमा पुगेपछि जनताको दबाबमा निरंकुश राजतन्त्र झुकेको थियो। त्यसक्रममा राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने घोषणा गर्दै दलहरूको मार्गचित्रअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

पुनःस्थापित संसद्को वि.सं. २०६३ जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकार प्रधानमन्त्रीलाई दिने ऐतिहासिक निर्णय गरेको थियो। त्यसअघि वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् वैशाख ११, २०६३ मा पुनःस्थापना भएपछि २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

संसद् विघटनपछि उत्पन्न राजनीतिक अस्थिरताबीच राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापाशेरबहादुर देउवा लाई पालैपालो प्रधानमन्त्री नियुक्त गर्ने र हटाउने क्रम चलेको थियो। वि.सं. २०६१ माघ १९ मा राजाले शासन सत्ता हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच १२ बुँदे समझदारी भएको थियो। त्यसपछि आन्दोलनले तीव्रता पायो।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला को नेतृत्वमा भएको आन्दोलनले चरम रूप लिएपछि लाखौँ जनता सडकमा उत्रिएका थिए। अन्ततः वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्दै राजाले सत्ता जनतामा फिर्ता गरेका थिए।

यसै घटनालाई लोकतन्त्रको पुनर्स्थापनाको प्रतीक मानिन्छ। त्यसपछि २०६४ मा संविधानसभा निर्वाचन, २०६५ जेठ १५ मा राजसंस्थाको अन्त्य र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। पछिल्लो चरणमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भई संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरू गठन भएका छन्।

यद्यपि लोकतन्त्र स्थापनापछि पनि जनअपेक्षा पूर्ण रूपमा पूरा हुन नसकेको, राजनीतिक अस्थिरता र भ्रष्टाचारका घटनाले जनतामा असन्तुष्टि देखिने गरेको छ। त्यसैले लोकतन्त्रलाई सुदृढ बनाउँदै जनताको विश्वास कायम राख्नु आजको मुख्य चुनौतीका रूपमा रहेको छ।

Facebook Comments Box