नेपाली कांग्रेस को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं, ११ वैशाख  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। पार्टीले सहमहामन्त्री प्रकाश स्नेही रसाइली को संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले यसअघि वैशाख ७ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो। समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्। बिहीबार मतदाताको नामावली प्रकाशित गरिसकिएको छ।

निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारी दर्ता र मतदान हुनेछन्। उम्मेदवारी दर्ताका लागि दिउँसो ३ बजेदेखि र मतदानका लागि अपराह्न ५ बजेदेखि समय तोकिएको छ। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद सहभागी हुनेछन्। संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले यस पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ।

दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसीमोहन आचार्य ले दाबी प्रस्तुत गरेका छन्। आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे र केसी समानुपातिकतर्फबाट सांसद बनेका हुन्। पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई ध्रुव देखिएका छन्। केसी र आचार्य संस्थापन (विशेष महाधिवेशन पक्षधर) समूहमा छन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर मानिन्छन्।

आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मा सहित शेरबहादुर देउवाशेखर कोइराला समूहको समर्थन रहेको बताइन्छ। यता सभापति गगन थापा बाहेक अधिकांश पदाधिकारी केसीको पक्षमा देखिएका छन्। तर पारिवारिक आरोप लाग्ने सम्भावनालाई ध्यान दिँदै थापा केसीलाई अघि सार्न अनिच्छुक रहेको स्रोतले जनाएको छ।

महामन्त्री प्रदीप पौडेल ले सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास जारी रहेको बताए पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ। कांग्रेसको संसदीय दलको नेता २०६४ पछि निरन्तर निर्वाचनबाटै चयन हुँदै आएको छ। पछिल्लो राजनीतिक अवस्थाले आन्तरिक गुटबन्दी तीव्र बनेकाले यसपटक पनि मतदानबाटै नेता चयन हुने सम्भावना बलियो देखिएको छ।

Facebook Comments Box