काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्नू अल्टिमेटमसहित माइकिङ
काठमाडौँ, ११ वैशाख – काठमाडौँ महानगरपालिकाले नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन अल्टिमेटमसहित माइकिङ गरेको छ। बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा पुगेर शुक्रबारभित्र बस्ती खाली गर्न निर्देशन दिएको हो। अन्यथा शनिबारदेखि संरचना भत्काइने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने चेतावनी दिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बस्तीका बासिन्दालाई आफ्ना सरसामान, बालबालिका तथा अन्य सदस्यलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। उनले शनिबारदेखि बस्ती खाली गराउने प्रक्रिया अघि बढ्ने जानकारी दिए। माइकिङमार्फत वैशाख ११ गते साँझ ७ बजेसम्म घर–टहरा खाली गर्न, लत्ताकपडा, घरपालुवा जनावर र अन्य सामग्री सुरक्षित स्थानमा सार्न भनिएको छ।
साथै अपांगता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकतामा राखेर स्थानान्तरण गर्न आग्रह गरिएको छ। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोग लिन सकिने उल्लेख गरिएको छ। त्यसैगरी वैशाख १२ गते बिहान ६ बजेदेखि अवैध संरचना हटाइने र अतिक्रमित क्षेत्र खाली गरिने बताइएको छ।
सो कार्यमा अवरोध पुर्याएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। महानगरले वास्तविक भूमिहीन सुकुम्बासीहरूको पहिचानका लागि सम्बन्धित निकायमार्फत लगत संकलन र छानबिन प्रक्रिया तत्काल सुरु गरिने जनाएको छ। १०–१५ दिनभित्र पहिचान भएका व्यक्तिहरूलाई बसोबासको उचित व्यवस्था मिलाइने पनि सूचनामा उल्लेख छ।
यसअघि गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुम्बासी बस्ती व्यवस्थापनमा कडाइ गर्न निर्देशन दिएका थिए। प्रशासनले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका चारवटा सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको जनाएको छ।

