वीरगञ्ज नाका हुँदै पहिलो नौ महिनामा रु ७९ अर्ब ५४ करोड बराबरका वस्तु तथा सामान निर्यात
पर्सा, १० वैशाख – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु ७९ अर्ब ५४ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १० अर्ब १९ करोड अर्थात् करिब १५ प्रतिशतले बढी हो।
गत आवको नौ महिनामा भने रु ६९ अर्ब ३५ करोड मूल्य बराबरको निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। निर्यात हुने वस्तुमध्ये भटमासको प्रशोधित तेल अग्रस्थानमा रहेको छ। चालु आवको नौ महिनामा यस नाकाबाट रु ४३ अर्ब ६१ करोड मूल्यको भटमास तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिमा रु ३६ अर्ब ६२ करोड थियो।
त्यस्तै, फलफूलको जुसको निर्यात रु ५ अर्ब ८४ करोड पुगेको छ भने गत वर्ष सोही अवधिमा रु ५ अर्ब ७७ करोड बराबरको निर्यात भएको थियो। प्रशोधित पाम तेलको निर्यातमा उल्लेखनीय वृद्धि देखिँदै चालु आवमा रु ५ अर्ब २४ करोड पुगेको छ, जबकि गत आवमा यो केवल रु ५९ करोड थियो।
यद्यपि, सूर्यमुखीको प्रशोधित तेलको निर्यात भने घटेको छ। चालु आवमा रु ५ अर्ब ५ करोडको निर्यात हुँदा गत आवमा यो रु ६ अर्ब ६१ करोड थियो। अन्य वस्तुहरूमा कपडाको निर्यात रु २ अर्ब ६९ करोड र सिन्थेटिक यार्नको निर्यात रु १ अर्ब ९४ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ।

