देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण जारी
काठमाडौं, ६ वैशाख – सरकारले राष्ट्रिय अभियानअन्तर्गत आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ। यो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय को पहलमा सञ्चालन भइरहेको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य राखिएको छ।
त्यसैगरी, १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल पनि खुवाइँदैछ। कार्यक्रम प्रभावकारी बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेर सेवा उपलब्ध गराइरहेका छन्।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको दृष्टि, रोग प्रतिरोधात्मक क्षमता र समग्र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। जुकाको औषधिले पेटका किराहरू हटाई कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखालाजस्ता समस्या रोक्न सहयोग गर्छ।
नेपालमा यो कार्यक्रम विसं २०५० मा सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको हो। यस्तै जुकाको औषधि वितरण कार्यक्रम विसं २०५६ मा सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ। हरेक वर्ष कात्तिक र वैशाख महिनामा यी औषधि निःशुल्क रूपमा बालबालिकालाई खुवाइँदै आएको छ।

