स्ट्रेट अफ होर्मुज फेरि तनावमा, इरानद्वारा जलमार्ग बन्द घोषणा

काठमाडौं, ६ वैशाख – विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग स्ट्रेट अफ होर्मुज पुनः तनावको केन्द्र बनेको छ। इरान ले अमेरिकी नाकाबन्दी नहटेसम्म जलमार्ग बन्द गर्ने घोषणा गर्दै कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिने जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ। फारसको खाडी र ओमान सागरबाट आउने जहाजलाई शत्रुसँगको सहकार्यका रूपमा लिने पनि स्पष्ट पारेको छ।

यसअघि पाकिस्तान को मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता भएको थियो, जसमा जलमार्ग खुलाउने सहमति भएको भनिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथिको नाकाबन्दी कायम रहने बताएपछि स्थिति फेरि तनावपूर्ण बनेको हो।

इरानले भने युरेनियम सम्बन्धी अमेरिकी दाबी अस्वीकार गर्दै प्रतिबन्ध हटाउनुपर्ने माग दोहोर्याएको छ। सहमतिको संकेतपछि केही समय तेलको मूल्य घटे पनि पुनः तनाव बढेसँगै बजारमा अनिश्चितता बढेको छ। इरानी संसद् सभामुख मोहम्मद बाकर गालिबाफ ले स्ट्रेट अफ होर्मुज इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी कदमको आलोचना गरेका छन्। उता ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘दबाब सिर्जना गर्न नसक्ने’ चेतावनी दिएका छन्।

युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स का अनुसार इरानले भारतीय जहाजमाथि फायरिङ गरेको घटनासमेत सार्वजनिक भएको छ। यसले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। विश्लेषकहरूका अनुसार अहिले अवस्था ‘दुई नाकाबन्दी’ जस्तो देखिएको छ—एकातर्फ अमेरिकी प्रतिबन्ध र अर्कोतर्फ इरानद्वारा जलमार्ग बन्द। यस्तो अवस्थाले विश्व ऊर्जा आपूर्ति, विशेषगरी तेल बजारमा गम्भीर प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।

Facebook Comments Box