इरान–अमेरिका वार्ता निष्कर्षविहीन, सहमति जुट्न सकेन

इस्लामाबाद, २९ चैत – अमेरिकाइरान बीचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना टुङ्गिएको छ । झन्डै २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी पक्षले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले अमेरिकाले आफ्नो ‘रेड लाइन’ स्पष्ट पारे पनि इरानले स्वीकार नगरेको बताए । उनले अमेरिकाले ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखिसकेको उल्लेख गर्दै अब निर्णय इरानकै हातमा रहेको बताए ।

अमेरिकी टोलीमा जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफसमेत सहभागी थिए । भान्सले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै डोनाल्ड ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहोर्‍याए । उता इरानले भने अमेरिकामाथि अत्यधिक र गैरकानुनी माग राखेको आरोप लगाएको छ । इरानले आफ्नो वैध अधिकार र स्वार्थको सम्मान हुनुपर्ने अडान राखेको जनाएको छ ।

वार्ता निष्कर्षविहीन भए पनि पाकिस्तान को मध्यस्थकर्ताको भूमिकाको अमेरिकी पक्षले प्रशंसा गरेको छ । भान्सले पाकिस्तानी नेतृत्वलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी पाकिस्तानका कारण नभएको स्पष्ट पारे । दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव अन्त्य गर्ने महत्वपूर्ण प्रयास अहिलेलाई असफल भएको मानिएको छ ।

Facebook Comments Box