दिक्तेलमा विज्ञान–गणित प्रदर्शनी महोत्सव हुने

खोटाङ, २९ चैत – दिक्तेल मा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसनहिमालयन माध्यमिक विद्यालय सोल्मा को संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सव आयोजक समितिका संयोजक तथा शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई का अनुसार विद्यार्थी तथा युवामा विज्ञान र प्रविधिप्रति रुचि बढाउने र भविष्यमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सवमा विद्यार्थीहरूले तयार पारेका विज्ञान परियोजना, एआईमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू प्रदर्शन गरिनेछ । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रमले ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीप विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, रोबो कार रेसमा विजेतालाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त ‘पिपुल्स च्वाइस अवार्ड’ र ‘मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड’ अन्तर्गत पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Facebook Comments Box