सङ्घीय संसद्का दुवै सदनको बैठक आज, प्रतिवेदन र विधेयक प्रस्तुत हुने
काठमाडौँ, २५ चैत – सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा को बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। सो अघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गरिनेछ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गर्ने कार्यक्रमसमेत रहेको छ।
यसैगरी राष्ट्रियसभा को बैठक अपराह्न १ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको छ।

