बिचौलिया कारबाहीको विरोधमा पर्सामा लेखापढी व्यवसायीको अनिश्चितकालीन हड्ताल
वीरगञ्ज, २३ चैत – सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको कारबाहीको विरोध गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।
आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादव का अनुसार पछिल्लो समय बिचौलियाको आरोपमा भइरहेका पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालय बाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू आक्रोशित बनेका छन्।
व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू-सेवा केन्द्र तथा लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै उनीहरूले सरकार र प्रहरी प्रशासनको कदमप्रति कडा आपत्ति जनाएका छन्।
एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १२१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय रहेका छन्। हड्तालका कारण सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको नियमित कामकाजसमेत अवरुद्ध बनेको छ।

