सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते
सुनसरी, २१ चैत – इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा प्रदेश १–०२–०२० प ६८८३ र प्रदेश १–०२–०२० प ६३४० नम्बरका मोटरसाइकल संलग्न थिए। घाइते हुनेमा इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई रहेका छन्। राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

