आठ महिनामा १४ खर्बभन्दा बढी विप्रेषण भित्रियो

काठमाडौँ, २० चैत – नेपाल राष्ट्र बैंक का अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशिएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) देशभित्र पठाएका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।

गत वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले मात्र बढेको थियो। पछिल्लो फागुन महिनामा मात्रै रु एक खर्ब ८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु एक खर्ब ५१ अर्ब १९ करोडभन्दा उल्लेखनीय रूपमा उच्च हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत मात्र थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ११ खर्ब ४९ अर्ब ३० करोड थियो। वैदेशिक रोजगारीतर्फ, अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या दुई लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ५१ हजार ९८५ रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा यी संख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ थिए। त्यस्तै, चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु एक खर्ब ९७ अर्ब ३ करोडभन्दा धेरै हो। अमेरिकी डलरमा पनि चालु खाता बचत बढेर तीन अर्ब ८८ करोड पुगेको छ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) इक्विटीतर्फ रु १० अर्ब ८४ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको रु आठ अर्ब ४७ करोडभन्दा बढी हो। यस्तै, शोधनान्तर स्थिति पनि उल्लेखनीय सुधारसँगै रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु तीन खर्ब १० अर्ब ३७ करोड मात्र बचतमा थियो।

Facebook Comments Box