लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : सभाध्यक्ष अर्जुननरसिंह केसी

काठमाडौँ, १९ चैत – प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसी ले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापना गर्न सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभएको छ।

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको मूल आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्नुभयो। “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो,” उहाँले भन्नुभयो।

सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनपछिको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो।

नवगठित प्रतिनिधिसभाप्रति जनताले ठूलो भरोसा राखेको उल्लेख गर्दै उहाँले सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता रहेको औँल्याउनुभयो।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले सार्वजनिक गरेको १०० बुँदे सुधार कार्यक्रमलाई स्वागतयोग्य कदमका रूपमा लिनुभयो।

उहाँले सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता औँल्याउँदै संवैधानिक संस्थाहरूको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार आवश्यक रहेको उहाँको भनाइ थियो।

गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानतालाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै उहाँले यस्ता समस्याबाट मुक्ति दिलाउन संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। संविधानको मर्मअनुसार समावेशिता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नवगठित सरकार र प्रतिनिधिसभाबाट जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रिया अघि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसी ले बैठकको अध्यक्षता गर्नुभएको हो।

Facebook Comments Box