इन्डोनेसिया को मोलुका टापु नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं, १९ चैत – इन्डोनेसिया को मोलुका टापु नजिक आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको उक्त भूकम्पपछि सुनामीको जोखिम बढेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण का अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो। प्रारम्भमा ७.८ म्याग्निच्युड मापन गरिएको भूकम्पलाई पछि परिमार्जन गरी ७.४ कायम गरिएको हो।
भूकम्पलगत्तै अधिकारीहरूले सुनामीको सम्भावनाबारे चेतावनी जारी गरेका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्र ले केन्द्रविन्दुबाट एक हजार किलोमिटरभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसिया का तटीय क्षेत्रमा समुद्री छाल आउन सक्ने जनाएको छ।
यस घटनामा भग्नावशेषले थिचिँदा ७० वर्षीया एक महिलाको मृत्यु भएको स्थानीय स्रोतले जनाएका छन्। मृतक उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी बासिन्दा हुन्। सुलावेसी टापुको मनाडो शहरमा एउटा भवनमा ठूलो क्षति पुगेको र त्यहाँको अवस्था देखाउने भिडियोसमेत सार्वजनिक गरिएको छ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प महसुस गरिएको छ। थप पराकम्प आउन सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प र ज्वालामुखी गतिविधि उच्च हुने गर्दछ। सम्बन्धित एजेन्सीहरूले सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन तथा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।

