कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
कर्णाली, १६ चैत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत सातौँ अधिवेशन अन्त्य भएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो।
सभामुख गुरुङका अनुसार अधिवेशन अवधिमा कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्थासम्बन्धी विधेयक पारित भएको छ। साथै केही प्रदेश ऐन संशोधन गर्ने विधेयकसमेत स्वीकृत गरिएको उहाँले बताउनुभयो। यस अवधिमा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधनसम्बन्धी विधेयक सभामा टेबुल गरिएको छ भने हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालनसम्बन्धी संकल्पपत्र पनि प्रस्तुत गरिएको छ।
सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक माघ १८ गतेदेखि सुरु भई चैत १५ गतेसम्म सञ्चालन भएको थियो। यस अवधिमा कुल १० वटा बैठक बसेका थिए, जसमा १३ घण्टा ४२ मिनेट समय खर्च भएको सभामुख गुरुङले जानकारी दिनुभयो।

