अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
काठमाडौँ, १६ चैत – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रक्रियामा सुधार गर्दै आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने तयारी गरेको छ। यसअघि लागू रहेको टोकन प्रणाली अन्त्य गर्दै सहज र छिटो सेवा प्रवाह सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो। आइतबार मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ।
बैठकले पूर्व–प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा डिजिटल बनाउने, श्रव्य–दृश्य सामग्री अनलाइनमार्फत उपलब्ध गराउने तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन, “श्रमाधान” योजनालाई प्रभावकारी बनाउने, कल सेन्टर सुदृढ गर्ने तथा औद्योगिक प्रतिष्ठानमा स्वास्थ्य र सुरक्षा मापदण्ड प्रवर्द्धन गर्ने विषयमा पनि जोड दिइएको छ।
बैठकमा उत्पादन र उद्यमशीलता प्रवर्द्धनमार्फत आन्तरिक रोजगारी सिर्जना गर्ने, थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तथा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुरक्षा, न्यूनतम ज्याला र कार्य वातावरण सुनिश्चित गर्न मापदण्ड तयार गर्ने विषयमा छलफल भएको छ।
मन्त्रालयका अनुसार हालै मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका कार्यसूची कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रमा तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिइएको छ। यससँगै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, सीप विकास तालिम विस्तार तथा सबै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा सीप मेला सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

