कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको टिप्पणी
काठमाडौँ, १२ चैत – नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ।सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रतिवेदनले पूर्णता नबोकेको बताए।
“प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ, अलि अधुरो छ,” उनले भने। उनका अनुसार आयोगले २३ भदौको आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ भदौका घटनालाई भने पर्याप्त रूपमा समेट्न नसकेको देखिन्छ।
“यो प्रारम्भिक धारणा हो, हामीले अझै विस्तृत अध्ययन गर्न बाँकी छ,” चालिसेले भने, “प्रतिवेदनलाई हामी गम्भीरतापूर्वक अध्ययन गर्छौं।” कांग्रेसले प्रतिवेदनको गहिरो अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ।
उक्त समितिमा कानुनका जानकार, शासन–सत्तामा अनुभव भएका व्यक्तिहरू तथा आन्दोलनमा सहभागी युवा अभियन्ता र विज्ञहरूलाई समावेश गरिनेछ।
समितिले कार्की आयोगको प्रतिवेदनसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरूको समेत अध्ययन गरेपछि पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

