राष्ट्रपतिद्वारा रामनवमीको शुभकामना

काठमाडौँ, १३ चैत – रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले यस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषाभाषी र संस्कृतिबीच आपसी विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिले रामनवमीले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति र भाइचाराको भावना मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। हरेक वर्ष चैत शुक्ल नवमीका दिन मनाइने राम नवमीलाई भगवान् श्रीरामको जन्मदिनका रूपमा श्रद्धापूर्वक मनाउने परम्परा रहिआएको छ। यस दिन विशेष पूजा–अर्चना, व्रत, अनुष्ठान तथा जप गर्ने चलन छ, जसबाट मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

राष्ट्रपतिका अनुसार यस्ता मौलिक पर्वहरूले प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। रामनवमीलाई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा पनि लिने गरिन्छ। यस अवसरमा देशका विभिन्न स्थानका साथै रामजानकी मन्दिरमा विशेष मेला तथा पूजा आयोजना हुने गर्दछ।

Facebook Comments Box