नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
काठमाडौँ, ९ चैत – अध्यागमन विभाग ले विश्वभर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राख्ने निर्णय गरेको छ। नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध थप प्रगाढ बनाउने तथा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको विभागले जनाएको छ।
सोहीअनुसार विमानस्थल कार्यालयलाई आवश्यक व्यवस्थापन गर्न आइतबार पत्राचार गरिएको छ। यो व्यवस्था लागू गर्नका लागि लामो समयदेखि पहल गर्दै आएको एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सरकारको निर्णयको स्वागत गरेको छ।
संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जारी गरेको विज्ञप्तिमा उक्त निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकलाई सम्मानित महसुस गराउने उल्लेख गरिएको छ। साथै, यसको कार्यान्वयनले नेपाली पहिचान र मातृभूमिसँगको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। निर्णयपछि गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह प्रशासनलाई धन्यवादसमेत ज्ञापन गरिएको छ।

