सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर
म्याग्दी, ९ चैत – मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तारका लागि स्वस्फूर्त रूपमा घरका पेटी र टहरा भत्काउन थालेका छन्। गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारमा सडक फराकिलो बनाउने र कालोपत्र गर्ने योजनालाई सहयोग गर्न स्थानीयले आफ्नै संरचना हटाउन थालेका हुन्। वडाध्यक्ष पथबहादुर रोकाका अनुसार वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर चौडा बनाउन घरधनीहरू स्वयं अग्रसर भएका छन्।
धौलागिरि टोलका ३६ र नयाँबजार टोलका ३१ घरका पेटी तथा टहरा भत्काउने योजना बनाइएको छ। स्थानीयले बैठकमार्फत मापदण्डअनुसार आवश्यक जग्गा उपलब्ध गराउने र संरचना हटाउने सहमति गरेका छन्। अन्य स्थानमा सडक विस्तारका क्रममा विवाद हुने गरे पनि दरवाङवासीको यस कदमलाई सकारात्मक सन्देशका रूपमा लिइएको छ।
घरधनीहरूको सहमतिमा न्यून क्षति हुने गरी संरचना हटाउने सहमति गरिएको नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले बताउनुभयो। यसअघि गत वर्ष दरवाङका विभिन्न क्षेत्रमा सडकछेउका संरचना हटाएर करिब ४०० मिटर नाली निर्माण गरिएको थियो। यस वर्ष सङ्घीय सरकारको समपुरक योजनाअन्तर्गत बजार क्षेत्रको सडक कालोपत्र गर्ने काम सुरु भएको छ।
करिब एक करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनामा सापकोटा बिल्डर्स छनोट भएको छ। २०८२ माघ ३० गते सम्झौता भएको उक्त योजना २०८३ असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस योजनामार्फत दरवाङको तल्लो र माथिल्लो बजार क्षेत्रमा करिब १.४ किलोमिटर सडक कालोपत्र गरिनेछ। सडक विस्तार र स्तरोन्नतिपछि सवारी आवागमन सहज हुने तथा दुर्घटनाको जोखिम घट्ने स्थानीयको अपेक्षा छ।

