नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
गण्डकी, ९ चैत – तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको अनौठो गुफा भए पनि अपेक्षित रूपमा पर्यटक भित्र्याउन नसकिएको पाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत भिमाद चोकबाट करिब १० किलोमिटर दूरीमा रहेको यस गुफाको पूर्वाधार विकाससँगै प्रवर्द्धनमा नगरपालिका निरन्तर जुटिरहेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस गुफाको प्रवर्द्धनमार्फत क्षेत्रको पर्यटन विकास गर्ने लक्ष्य लिइएको छ। स्थानीयका अनुसार गुफाबारे परापूर्वकालदेखि जानकारी भए पनि व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास भने पछिल्ला वर्षमा मात्रै सुरु भएको हो।
गुफाको प्रवेशद्वार साँघुरो भएकाले निहुरिएर मात्र भित्र पस्न सकिन्छ। करिब ३० मिटरभित्र पहिलो तला आउँछ, जहाँ करिब १५० जनासम्म अट्ने ठाउँ छ। त्यसपछि दोस्रोदेखि नवौँ तलासम्म गुफा फैलिएको छ। हाल तेस्रो तलासम्म सहज पहुँच भए पनि चौथो तलामा जाने बाटो अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथिल्लो तलामा प्रवेश रोकिएको छ। गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्गलगायत देवीदेवताका आकृति देखिन्छन्।
सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्ये यस गुफा पनि एक हो। जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित यस गुफामा प्रत्येक वर्ष साउन महिनामा विशेष पूजा तथा नवान्न चढाउने परम्परा छ भने चैते दसैँमा मेला लाग्ने गर्दछ। पछिल्लो समय यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ।

