‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार
काठमाडौँ, ९ चैत – पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको २७औँ ‘फ्लोरा एक्स्पो’ एक करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल का अनुसार चार दिनसम्म सञ्चालन भएको उक्त मेलामा ६० हजार ७०० जनाले अवलोकन गरेका थिए। मेला संयोजक तथा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले दर्शकको उल्लेखनीय सहभागिता रहेको जानकारी दिनुभयो।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैत ५ गतेदेखि सुरु भएको मेलामा व्यावसायिक ६५, अफिसियल ११ र प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए। नेपालमा पुष्प व्यवसायमा हाल आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ भने करिब ५३ हजार ५०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन्।
भन्सार विभाग का तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा चालु वर्षमा ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। निर्याततर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ। एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार निर्यात १०९.१६ प्रतिशतले बढेर दुई करोड १३ लाख रुपैयाँ पुगेको छ।

