सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीन वर्षमा ६७ प्रतिशत प्रगति

काभ्रेपलाञ्चोक, ९ चैत – अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने काम तीन वर्षमा ६७ प्रतिशत सम्पन्न भएको छ। १६ किलोमिटर लम्बाइको उक्त सडक आयोजनाअन्तर्गत दायाँबायाँ दुई सर्भिस लेन र २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ। निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि गत मङ्सिर अन्तिम साता पुनः एक वर्ष म्याद थपिएको आयोजनाले जनाएको छ।

सडक विस्तारलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरिएको छ। साँगा–धुलिखेल (८ किमि) खण्डमा ६० प्रतिशत काम सम्पन्न भएको छ भने समग्र प्रगति करिब ६५ प्रतिशत पुगेको र पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत रहेको निर्माण कम्पनीले जनाएको छ।

सूर्यविनायक–साँगा खण्डमा भने हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ। ‘सेन्टर लाइन’ विवादका कारण लामो समय रोकिएको पलुबजार क्षेत्रमा गत मङ्सिरबाट पुनः काम सुरु गरिएको हो। जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा निर्माण कार्य तीव्र पारिएको आयोजनाले जनाएको छ।

यस खण्डमा टेवा पर्खाल, नाली र कल्भर्ट निर्माण भइरहेको छ। साँगा क्षेत्रमा भिर र घुम्तीका कारण काम गर्न कठिनाइ भएको जनाइएको छ। तीनमध्ये महादेव खोलामा पुल निर्माण भइरहेको छ भने अन्य दुई पुलको डिजाइन ढिलाइ भए पनि अहिले प्रक्रिया अघि बढेको छ। तातोपानी नाका पुनः सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप बढेको छ। हाल कोटेश्वरबाट दैनिक दुई हजार पाँच सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेका छन्।

Facebook Comments Box