नारायणगढ–मुग्लिन सडकका ४३ स्थान पहिरोको जोखिममा

चितवन, ४ चैत – नारायणगढ–मुग्लिन सडक खण्डका ४३ स्थान पहिरोको जोखिममा रहेका छन्। सडक डिभिजन कार्यालय भरतपुर को अध्ययनअनुसार आठ स्थान उच्च जोखिममा, २२ स्थान मध्यम जोखिममा र १३ स्थान सामान्य जोखिममा छन्। उच्च जोखिममध्ये तुइन खोला क्षेत्रलाई अति उच्च जोखिमयुक्त मानिएको छ।

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरे का अनुसार तुइन, काली र नाम्सी खोला क्षेत्र अत्यधिक जोखिममा छन्। साथै तुइन–चिसेन्जी बीचको भाग, चार किलोका दुई स्थान, मौरी खोला र सेती दोभान क्षेत्रमा पनि पहिरोको उच्च जोखिम रहेको छ। ती क्षेत्रमा ढुङ्गा झर्ने र लेदोसहितको पहिरो खस्ने समस्या देखिएको छ।

कार्यालय प्रमुख नारायण लामिछाने ले तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथामका लागि गुरुयोजना स्वीकृतिका लागि सडक विभाग मा प्रस्ताव पठाइसकिएको जानकारी दिनुभयो। ती क्षेत्रमा विपद् व्यवस्थापन शीर्षकअन्तर्गत रु २५ करोड बजेट विनियोजन गरिएको छ।

अन्य जोखिमयुक्त स्थानमा पनि करिब रु २० करोड बजेट छुट्याइएको छ। बर्सातअघि नै रोकथाम तथा न्यूनीकरणका काम सुरु गर्ने तयारी भइरहेको जनाइएको छ।

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएकाले वर्षायाममा पहिरोको जोखिम अझ बढेको छ। दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक काठमाडौँ जाने मुख्य ‘लाइफ लाइन’ मार्गका रूपमा परिचित छ।

Facebook Comments Box