हावाहुरी पीडितलाई पौवादुङमा गाउँपालिकाद्वारा राहत घोषणा
भोजपुर, ५ चैत – पौवादुङमा गाउँपालिका ले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। चैत २ गते बेलुका आएको हावाहुरीबाट क्षति बेहोरेका घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राई ले जानकारी दिनुभयो।
“प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग गर्नु हाम्रो दायित्व हो,” अध्यक्ष राईले भन्नुभयो, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई का अनुसार हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको छ र ती सबैलाई राहत उपलब्ध गराइनेछ। हावाहुरीका कारण विशेषगरी कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन्।

