केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट,  ४ चैत – रौतहट जिल्ला मा केरा खेतीको बिमा व्यवस्था नहुँदा किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्। विभिन्न स्थानीय तहमा गरिएको केरा खेती प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त हुँदा बिमा अभावले किसानले सम्पूर्ण नोक्सानी आफैं व्यहोर्नुपरेको छ। सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिका मा व्यापक क्षति पुगेको छ। विशेषगरी चन्द्रपुर–३ क्षेत्रमा करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ।

चन्द्रपुर–१ (पौराई), चन्द्रपुर–२ (जुडिबेला), चन्द्रपुर–३ (गैँडाटार) र चन्द्रपुर–४ (चन्द्रनिगाहपुर) लगायतका क्षेत्रमा हजारौँ केराबोट ढलेका छन्। गैँडाटार गाउँ केरा उत्पादनको प्रमुख क्षेत्रका रूपमा चिनिन्छ, जहाँ अधिकांश किसान व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्।

स्थानीय कृषक दीपक गौतम का अनुसार हावाहुरीले वर्षभरिको मेहनत एकैपटक नष्ट गरिदिएको छ। “लगानी, श्रम र समय सबै गुम्यो, अब आर्थिक रूपमा धानिनै गाह्रो भएको छ,” उहाँले बताउनुभयो। किसानहरूले हावाहुरी, रोग र जङ्गली जनावरबाट हुने क्षति बर्सेनि व्यहोर्दै आएका छन्। तर केरा खेतीको बिमा नहुँदा यस्तो क्षतिपूर्ति पाउने कुनै व्यवस्था छैन। बिमा व्यवस्था लागू गर्न पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको कृषकहरूको गुनासो छ।

चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरे ले बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताउँदै अहिलेको अवस्थामा बाली बिमा अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार बिमा कम्पनीहरूले जोखिम बढी भएको भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएका छन्।

जिल्लामा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेती हुँदै आएको छ। पछिल्लो हावाहुरीबाट मात्रै तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। यसैबीच सञ्जयकुमार काफ्ले (नगरप्रमुख, चन्द्रपुर नगरपालिका) ले कृषकहरूको बाली बिमा सुनिश्चित गर्न नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ। उहाँले बाली बिमा कृषि क्षेत्रका लागि अत्यन्त आवश्यक रहेकोमा जोड दिनुभयो।

Facebook Comments Box