दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा आठ जना घाइते

नवलपरासी, २७ फागुन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा अन्य सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक रास्कोट नगरपालिका–६, कालिकोटका करिब ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकलमा पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । त्यसैगरी यात्रुवाहक बसमा सवार छ जना यात्रु पनि घाइते भएका छन् ।

घाइते हुनेमा रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

Facebook Comments Box