विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन विषय रोजाइमा अग्रणी
काठमाडौं, २६ फागुन – नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ। विदेशमा अध्ययन गर्न जानेमध्ये अधिकांश विद्यार्थीले व्यवस्थापन विषय रोज्ने गरेको पाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दिने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) सम्बन्धी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरणले जापानप्रति आकर्षण बढेको देखाएको हो।
जापानी भाषा सिकेर अध्ययनसँगै काम गर्न सहज हुने भएकाले पनि जापानतर्फ विद्यार्थीको आकर्षण बढेको मन्त्रालयले जनाएको छ। केही वर्षअघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया हुने गरेको थियो।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म कुल २८ हजार ५८५ विद्यार्थीले भक्तपुरको सानोठिमी स्थित शाखाबाट एनओसी लिएका छन्। तीमध्ये जापानका लागि नौ हजार ४५३, अष्ट्रेलियाका लागि सात हजार ७३० र संयुक्त अधिराज्य बेलायत का लागि चार हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन्।
मन्त्रालयको एनओसी शाखाका प्रमुख वीरेन्द्रजङ्ग थापा का अनुसार गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थीको संख्या बढेको हो। उहाँले एनओसी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेकाले कागजात पूरा गरेका आवेदकलाई पालोअनुसार स्वीकृति दिइने बताउनुभयो।
जापान जान तयारी गरिरहेका जुम्ला का नवराज देवकोटा ले शाखामा विद्यार्थीको भीड बढेकाले आफ्नो स्वीकृतिको अवस्थाबारे बुझ्न कठिन भएको गुनासो गर्नुभयो। उहाँ फुकोका स्थित क्युरिन इन्टरनेसनल जापानी भाषा कलेजमा अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देशका लागि एक लाख २३ हजार ५८९ विद्यार्थीले विदेश अध्ययनका लागि स्वीकृति लिएका थिए। तीमध्ये जापानका लागि सबैभन्दा धेरै ३९ हजार ८४७ रहेका छन्।
त्यस्तै बेलायतका लागि २७ हजार ४७५, अष्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरिया का लागि नौ हजार ७५७ र संयुक्त राज्य अमेरिका का लागि आठ हजार ८७० विद्यार्थीले स्वीकृति लिएका छन्।
अध्ययनका विषयमध्ये व्यवस्थापन विषय सबैभन्दा लोकप्रिय देखिएको छ। गत आर्थिक वर्षमा एक लाख १६ हजार ७८० विद्यार्थीले व्यवस्थापन विषयका लागि पूर्वस्वीकृति लिएका छन्। यस्तै सूचना प्रविधि विषयमा ३० हजार ७४४, विज्ञान विषयमा २० हजार ६७४ र हस्पिटालिटी विषयमा १४ हजार २३ विद्यार्थी रहेका छन्।
मन्त्रालयले विदेशका विश्वविद्यालय र कलेजको आधिकारिकता तथा पूर्वाधारको अवस्थाका आधारमा कार्यक्रमगत सूची पनि अद्यावधिक गरेको छ। वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ (संशोधनसहित) अनुसार ‘टाइम्स हाइयर एजुकेशन’ वा ‘क्युएस वल्र्ड युनिभर्सिटी को वरियतामा परेका विश्वविद्यालयहरूको सूची यही फागुन ११ गते अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ।
विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले विभिन्न देशका विश्वविद्यालय र कलेजसम्बन्धी आधिकारिक सूचना उपलब्ध हुने पोर्टलहरू पनि सार्वजनिक गरेको जनाएको छ।

