डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
काठमाडौं, २६ फागुन – सर्वोच्च अदालत का वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल ले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको कार्यक्रममा उहाँले न्याय सम्पादन डर र दबाबबाट सम्भव नहुने बताउनुभयो।
“कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन डराएर वा धम्काएर हुन सक्दैन,” उहाँले भन्नुभयो, “सुशासन वास्तवमा न्यायालयको आत्मा हो। संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय न्यायालय हो र संविधानले सरकारका सीमाहरू पनि निर्धारण गर्छ। सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव हुन्छ।”
उहाँले संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै न्यायिक स्वतन्त्रतामा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताउनुभयो। “कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन,” उहाँले थप्नुभयो।
वरिष्ठतम् न्यायाधीश मल्लले महिला अघि बढे मात्रै राष्ट्र अघि बढ्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अझै खाडल रहेको बताउनुभयो। महिलाले अझै पनि विभेद र अन्यायको अनुभव गरिरहेकाले महिला दिवस मनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
उहाँले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता आवश्यक रहेको र विगतको तुलनामा समाज परिवर्तन हुँदै गएको उल्लेख गर्दै महिलाले अझै धेरै गर्न सक्ने धारणा राख्नुभयो।
यस अवसरमा सर्वोच्च अदालतकै न्यायाधीश सारङ्गा सुवेदी ले महिलाले अझै पनि हरेक पाइला–पाइलामा आफ्नो क्षमताको परीक्षा दिनुपर्ने अवस्था रहेकाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी सविता भण्डारी बराल ले महिलाले नेतृत्व क्षमता बढाउँदै न्याय, समानता, सहभागिता र समावेशिताको क्षेत्रमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
नेपाल बार एसोसिएसन का उपाध्यक्ष सरस्वती श्रेष्ठ ले महिला सशक्तीकरण र सहभागिता अझै आवश्यक रहेको तथा महिलाले धेरै क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेको धारणा राख्नुभयो।

