प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक
काठमाडौँ, २६ फागुन – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष प्रणालीका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा सङ्खुवासभा निर्वाचन क्षेत्रको मतपरिणाम सोमबार राति सार्वजनिक गरिएको हो । उक्त क्षेत्रमा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गर्दै विजयी हुनुभएको छ ।
धनुषा–१ निर्वाचन क्षेत्र उम्मेदवारी खारेजको विषयलाई लिएर विवादित बनेको थियो । सो क्षेत्रमा निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । उम्मेदवारी खारेज गरिएको विषयमा रास्वपाका उम्मेदवार भने अदालत पुगेका छन् ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक सिट जितेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका महावीर पुन विजयी हुनुभएको छ ।
प्रतिनिधिसभाका २७५ सदस्य चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो । समानुपातिकतर्फ हालसम्म करिब एक करोड मतगणना भइसकेको छ । प्रारम्भिक परिणामअनुसार उक्त प्रणालीमा पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका छन् ।

